
सानेपा, कात्तिक १५ । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिको बैठकलाई सम्बोधन गर्नुभएको छ ।
जुम प्रविधिमार्फत आज अपरान्ह बसेको बैठकलाई सभापति देउवाले सम्बोधन गर्नुभएको हो । सभापति देउवाले प्रचार प्रसार समितिका सदस्यहरूलाई लोकतन्त्रिक पद्धति र संविधानको रक्षाका लागि नेपाली कांग्रेसका पक्षमा ब्यापक जनमत बनाउने ढंगले निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति देउवाले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस कम सिटमा बिजयी हुँदा देशको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक पद्धतिको विकासमा आएको अवरोधलाई ध्यानमा राखेर यसपटक नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरूको बीच चुनावी तालमेल भएको उल्लेख गर्नुभयो ।
उहाँले लोकतन्त्र बचाउनका लागि अन्यदलहरुसंग गठबन्धन गर्दा नेपाली कांग्रेसका योग्य साथीहरु टिकटका अवसरबाट छुट्नुभएको उल्लेख गर्दै निर्वाचन जितेपछि राज्य सञ्चालनमा उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी पाउने पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसका सबै कार्यकर्ता र शुभेच्छुकहरूलाई नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन र नेपाली कांग्रेसको उम्मेद्वार नभएको स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध पनि गर्नुभयो ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको उम्मेदवारी नभएको स्थानमा पनि निर्वाचन अभियानलाई उत्तिकै महत्व दिएर समानुपातिकतर्फ अत्यधिक मत खस्ने वातावरण सिर्जना गर्न पनि अनुरोध गर्नुभयो । समानुपातिकतर्फको मतले पनि संसदमा नेपाली कांग्रेसको दरिलो उपस्थितिलाई बल पुग्ने उल्लेख गर्दै उहाँले केन्द्रीय प्रचार प्रसार समितिका सदस्यहरूलाई कांग्रेस समर्थक सबै मतदातालाई मत दिन उत्प्रेरित गर्ने ढंगले गरी निर्वाचन प्रचार प्रसार अभियान सञ्चालन गर्न पनि निर्देशन दिनुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन गर्नुपरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका साथीहरू पार्टीका उम्मेदवार र आफ्ना उम्मेदवार नभएका स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुनुपर्ने बताउनुभयो । प्रवक्ता एवम् संयोजक डा.महतले समानुपातिक तर्फको मतको ठूलो महत्व रहेको उल्लेख गर्दै समानुपातिकतर्फ नेपाली कांग्रेसलाई अत्यधिक मत खसाउने वातावरण तयार पार्न पनि आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले आइतबार साँझ पनि नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास समन्वय तथा प्रचार प्रसार उपसमितिको जुम बैठकलाई सम्बोधन गर्नुभएको थियो ।