Kath khabar
आगलागीमा परी तीन बालबालिको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट


               गौर, मंसिर ८ । रौतहटको गौर नगरपालिका-१ गौर बस्ने ईश्लाम मियाँको घरमा रहेको कपास, सिरक, डस्नाको गोदाममा बुधबा राति आगलागी हुँदा सोही ठाउँ बस्ने महम्द ईश्लाम मियाँकी छोरी ९ वर्षीया रोक्शाना खातुन सहित ३ जना बालबालिकाको आगलागीमा परी जलेर मृत्यु भएको छ । साथै आगलागीमा परी गम्भीर घाइते भएका २ जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।

साथै भाग्ने क्रममा घाइते भएका सोही ठाउँ बस्ने रसुल मियाँकी छोरी २४ वर्षीया नसिमा खातुनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। आगलागीबाट सिरक, डस्ना, घर टहरा, सिरक बनाउने मेसिन, संगै रहेको मोटरसाइकल ग्यारेजमा रहेको २० वटा मोटरसाइकल र मोटरसाइकल रिपेयरिङको सामानहरु समेत करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषाको कमला नगरपालिका-३ लग्मा बस्ने ७० वर्षीया रामसती देवी साहको आगोले जलेर बुधबार साँझ मृत्यु भएको छ । दिप जलाउने क्रममा साडीमा आगो लागी जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरी, गौशला नगरपालिका–५ तरकारी बजारस्थित सोही ठाउँ बस्ने सुशिल पासवानको सुशिल कस्मेटिक जेनरल स्टोरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी हुँदा कस्मेटिक सामानहरु जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका-४ फाक्चामारा कार्की गाउँ बस्ने ओतन बहादुर कार्कीको गोठमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा बाख्रा १० वटा, कुखुरा ३४ वटा, चिरान काठ र गोठ समेत जलेर करिब ३ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीको स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update