Kath khabar
काठमाडौंको तिनकुनेमा बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
०१-००६ ख ४८४० नम्बरको बस

 

                 काठमाडौं, मंसिर २०। काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकखण्डमा आज बिहानै बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका छन् । उनलाई उपचारको लागी सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते भएका मोटरसाइकलमा पछाडी सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामगंल तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ४८४० नम्बरको बसमा बानेश्‍वरबाट कोटेश्‍वरतर्फ जादै गरेको बा ८१ प २७९९ नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे ठोक्किएको थियो । दुबै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको प्रहरी बृत्त बानेश्वरले जनाएको छ  ।

चितवनको इच्छाकामना गाउँपालिका ५ मा आज बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख ७४६२ नम्बरको टिपर आज बिहान पौने ७ बजे सडकबाट करिब २० मीटर तल खोलामा खसेको थियो । टिपरका चालक अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । मृतकको सनाखत हुना बाँकी रहेको छ ।

महोत्तरीको वर्सिबास नगरपालिका २ मसानघट्टामा गएराति मोटरसाइकल र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । १ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखिपुर नगरपालिका ७ का २८ वर्षीय रुपेश कुमार सिंह रहेका छन् । बर्दिबास स्थित जनसेवा अस्पतालमा उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार सिरहाकै मिर्चैया नगरपालिका १० का २० वर्षीय अजय कुमार साहलाई थप उपचारको लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ।

प्रदेश २-०२-००४ प ६४३४ नम्बरको मोटरसाइकल र ना६ख ७७ ११ नम्बरको ट्रक आपसमा ठोकिएका थिए। दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update