Kath khabar
सकियो मतगणना,  एमालेबाट छुट्टिएको समाजवादी राष्ट्रिय दल बन्न सकेन

 

               काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो । निर्वाचनको १६ दिनपछि प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो।

आयोगले अनुसार १ करोड ५ लाख ६० हजार ६७ मतगणना सदर भएको छ । समानुपातिक निर्वाचनमा ७ वटा दलले थ्रेसहोल्ड कटाए भने अन्य ४० दलले प्राप्त गरेको मत खेर गएको छ । समानुपातिकतर्फ नेकपा एमाल २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएर दोस्रो बनेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएर तेस्रो बनेको छ । यसपटक नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ४५४ मत ल्याएर चौथो स्थानमा रहेको छ । पुरानो तर अघिल्लो पटक राष्ट्रिय दल बन्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत ल्याएर पाँचौ स्थान बनाउँदै आफूलाई स्थापित गरेको छ । यसपछि क्रमशः जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४, जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ ।

नेकपा एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। नेपाली कांग्रेसले ३२ सिट माओवादी केन्द्रले १४ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राप्रपाले ७ सिट ,जनमत पार्टी र जसपाले ५५ सिट पाएका छन् । प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गरिनेछ ।

एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउन असफल रह्यो। थ्रेस होल्डमा अड्किएपछि एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी राष्ट्रिय पार्टी बन्न असफल भए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update