
बीरगञ्ज, मंसिर २७ । वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमणमा परेका मूल नहर, शाखा नहर, टर्सरी नहर र कुलो सञ्चालनको लागि पहल शुरु गरेको छ । आज महानरमा आयोजित बैठकमा महानगर र सिचाई विकास डिभिजन वीरगंज तथा नारायणी सिचाई ब्यवस्थापन कार्यालयका विच यस्तो सहमती भएको हो ।
विगतमा सिँचाई प्रयोजनका लागि निर्माण गरीएका नहर र कुलोहरु अतिक्रमणको चपेटामा पर्दा नहर/कुलो मासिँदै जानुका साथै खेती सिँचाईमा समस्या हुनुको साथै वर्षातमा पानीको प्राकृतिक बहावमा अवरोध हुँदा डुबानको समस्या देखिने गरेकोले नहर/कुलोको खोजी गरी सञ्चालन गर्न लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
नहर/कुलो सँग सम्बन्धित कार्यालयले सात दिन भित्र यस्तो नहर/कुलो कहाँ कहाँ कति परिमाणमा अतिक्रमणमा परेका छन् त्यसको विस्तृत विवरण निकाल्ने र महानगरले त्यसलाई सुचारु गर्न पहल गर्न सहमति भएको छ । सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी र वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्व स्वीकृति लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगञ्जका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पूर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगायतको सहभागिता रहेको थियो ।