Kath Khabar
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुद्धारा शपथ ग्रहण

 

             काठमाडौं, पुस ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुग्नुभएको थियो । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update