Kath Khabar
भनसुन र घूस नखुवाई हुने दिन ल्याइने छ -  नारायणकाजी श्रेष्ठ

 

              

               काठमाडौं, पुस १२ । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उहाँले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसुन र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

‘हामीले राजनीतिक परिवर्तन गर्‍यौं, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ’, उहाँले भन्नुभयो।

जनताको जीवनमा परिवर्तन हुने गरी स्वास्थ्य शिक्षा, रोजगारी खाद्यान्न, आवास, खानेपानी सडक, बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सामाजिक आर्थिक संरचनाको गुणात्मक फड्को मन्त्रालयको निर्णायक भूमिका रहने भएकाले त्यस दिशामा स्पष्ट साथ अघि बढ्ने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए। मन्त्रालयका काम गर्न भनसुन गर्ने तथा पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य गरिने उहाँले बताउनुभयो।

‘समयको महत्वलाई बुझेर मन्त्रालयको कामलाई गुणात्मक दिनुपर्छ, नीतिगत सुधार गरेर काम कारबाहीलाई छिटो बनाउनुपर्छ। कर्मचारीले कुनै चाकडी गर्नु पर्दैन, राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ,’ उहाँले भन्नुभयो। राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन प्रवर्द्धन गरी राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने जनाउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासनलाई प्रभावकारी बनाइने विश्वास दिलाउनुभयो ।

भ्रष्टाचार र पैसाका लागि हुने अवाञ्छित गतिविधि गर्ने दिन सकिएको उहाँको भनाइ छ। ‘भ्रष्टाचार गर्नेहरु वा पैसालाई केन्द्रमा राख्नेले मन्त्रालयलाई कब्जामा लिन्छु भन्ने दिन गए’, उहाँले भन्नुभयो।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update