Kath Khabar
‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहन्छ' - केपी शर्मा ओली

 

           काठमाडौं, पुस १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने बताउनुभएको छ। 

नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताउनुभएको छ। ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहन्छ,’ उहाँले भन्नुभएको छ।

एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको उहाँले बताउनुभयो। ‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ’, उहाँले भन्नुभएको छ।

समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आ-आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गर्नुभएको छ । ‘व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु’, उहाँले भन्नुभएको छ।

समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उहाँको छ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update