Kath Khabar
जनतालाई गुनासोरहित हुनेगरी प्रभावकारी ढंगले काम गर्न गृहमन्त्रीको निर्देशन


            काठमाडौं, पुस १८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार भर्चुअल सम्बोधन गर्दै कतैबाट गुनासो आउन नदिनेगरी प्रभावकारी ढंगले काम गर्न ७७ वटै जिल्लाका सिडिओहरुलाई निर्देशन दिनुभएको छ ।

लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न अहोरात्र खटिने सुरक्षाकर्मीहरुलाई निर्देशनको क्रममा आज गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल संवोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने बताउनु भएको छ । साथै विपद्को सामना गरिरहेका नागरिकसामु सकेसम्म आफै पुग्न र दुःखमा परेकाहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धताका लागि पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री लामिछानेले निर्देशन दिनु भएको छ ।

यस्तै चोरी निकासी तथा पैठारीमा संलग्न हुनेहरुलाई यथाशिघ्र कानुनको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालयहरुबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरी मार्फत हुने शान्ति सुरक्षा लगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय प्रमुखहरुलाई मन्त्री लामिछानेले निर्देशन गर्नुभयो ।

नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नु पर्ने गुनासो आजकै दिनबाट हटाउन पनि उहाँले निर्देशन दिनु भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update