Kath Khabar

काठमाडौं,जेठ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो । नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो हुनुहुन्छ । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी-ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिनुभएको छ । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहनुभएको छ ।

उपप्रम पौडेल र महासेठबाट पदबहाली यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गर्नुभयो । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गर्नुभएको थियो । (रासस)

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update