Kath Khabar
संविधानको रक्षा गर्नका लागि पनि प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन्छौं - देउवा


               काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेसले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्नुभएको छ ।

बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताउनुभएको छ।

विपक्षी दलका रुपमा काम गर्दा पनि हाम्रा केही यस्ता साझा राष्ट्रिय सरोकारका विषय छन् जसमा हामी सबैले साझा धारणा निर्माण गर्न आवश्यक छ भन्दै सभापति देउवाले महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतक दलहरु बीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्दछ भन्ने नेपाली काँग्रेसको दृढ मत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ। वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी हो, संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतिको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेसले मतदान गर्नेछ।"

 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update