Kathkhabar
सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

 

              काठमाण्डौं, माघ ६ । एमाले सांसद लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ। महोत्तरी जिल्लाको गौशाला नगरपालिका-२ का कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो ।

‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’ मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update