Kath Khabar
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

 

                 काठमाडौं, माघ १२ । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिलाई आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस बारेमा सरकारले गर्नुपर्ने कामबारे सुझाव दिने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गत बुधबार उपचारको क्रममा आचार्यको निधन भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेट गर्नुभएको थियो । भेटको क्रममा गृहमन्त्री लामिछानेले प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने बताउनुभएको थियो ।

आचार्यले उठाएका विषयको सम्बोधन हुनुपर्ने भन्दै काठमाण्डौमा प्रदर्शन पनि भईरहेको छ । मंगलबार दिउसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update