Kath khabar
शहिदहरुको सम्झनामा स्मृति सभा सम्पन्न

 

                   काठमाडौं, माघ १६ । शहीद दिवसको अवसरमा काठमाडौंको लैनचौरस्थित शहीद स्मृति पार्कमा आज स्मृति सभा आयोजना गरिएको छ।

ज्ञात अज्ञात शहीदहरुको सम्झनामा गरिएको उक्त श्रद्धाञ्जली सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । स्मृति सभामा उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारण प्रभातफेरीमा सहभागी हुनुभएको थियो ।  

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो । ‘शहीदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र  उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

यस्तै महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ।  ‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, शहीदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।’ प्रमुख शाहले भन्नुभयो।   

माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइदै आएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update