Kath Khabar
प्रधानमन्त्री दाहाल र विप्लवबीच भेट, साझा मोर्चा बनाउने समझदारी

 

               काठमाडौं, माघ २३। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राजनीतिक भेटघाट गर्नुभएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गर्नुभएको हो ।

सो क्रममा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको उनले बताए।

माओवादी धारहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका उनको भनाइ छ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए। तिमिल्सिनाका अनुसार सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिए।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update