
काठमाडौं, माघ २७। शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरिएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थ्यो भने गठबन्धनमा आवद्ध सात दलमध्ये जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित हुनुहुन्थ्यो ।
रास्वपा सरकारबाट बाहिरिनु र सत्ता गठबन्धनकै दल नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिँदा एमाले नेतृत्वको उक्त सरकार ढलेको छ । सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।