
काठमाडौं, फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
बैठकमा सहभागी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार भए सरकारमा सहभागी हुन पनि सकिनेछ । तर, उक्त सहमति नहुँदा तत्काल रास्वपा सरकारमा सहभागी हुन नसक्ने उनले बताए । ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ ।’ उनले बताए ।
बैठकले पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रिय समिति सदस्यका रूपमा १६ जना चयन भएका हुन् । पार्टीको केन्द्रीय सदस्य बन्नेहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।
त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, सङ्गठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको उपमहासचिव बर्तौलाले बताउनुभयो ।