
काठमाडौं, फागुन ६ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकायका उम्मेदवारहरुले बुझाउनु पर्ने जरिवाना रकम मिनाहा गर्नुभएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि गरिएको जरिवाना सरकारको सिफारिसमा संविधानको धारा २७६ बमोजिम मिनाहा गरिएको छ ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७२/११/०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ’ राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३९५ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय पनि माफी गर्नु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुष्कर गौतम सहित १४ जना र बिष्णुकुमार लिम्बु सहित ३८१ जनाको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको हो ।