Kath khabar
तनहुँ १ र बारा २ मा पनि वैशाख १० गते उपचुनाव हुने

                

                      काठमाडौं, चैत ६ । चितवन २ सहित तनहुँको क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ ।

निर्वाचन आयोगको आज सोमवार बसेको बैठकले तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले यसअघि नै चितवन–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरिसकेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको निर्णयअनुसार रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपचुनाव हुन लागेको हो ।

तनहुँ–१ विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोले त्यहाँ रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बारा–२ का निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ पनि उपचुनाव हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपचुनाव गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update