
बारा, वैशाख १२ । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
जसपा अध्यक्ष यादवले १२ हजार ६४७ मतका साथ अग्रता कायम गरेका छन् भने जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ८ हजार ३९७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ४ हजार ४८६ मतसहित तेस्रो स्थानमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।