Kath khabar
सन्दर्भ विश्व उच्च रक्तचाप दिवस : यी लक्षणबाट पहिचान गर्नुहोस् उच्च रक्तचाप

 

                   काठमाडौं, जेठ ३ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मे १७ मा विश्वभर ‘विश्व उच्च रक्तचाप दिवस’ मनाइन्छ । सन् २००५ देखि मनाउन थालिएको यो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।

धेरैजसो मानिसहरु उच्च रक्तचापबाट ग्रस्त छन् । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यो घातक पनि हुन सक्छ । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । यसरी धेरै संख्यामा मानिसहरू उच्च रक्तचापको शिकार भइरहेको अवस्थामा यसको पहिचानका लागि नियमित रूपमा जाँच गराउनु आवश्यक हुन्छ ।

उच्च रक्तचाप के हो?
वयस्कको सामान्य रक्तचाप १२०/८० हुन्छ। यद्यपि यो संख्यामा थोरै उतारचढाव आउन सक्छ, तर यदि तपाईको रक्तचाप १४०/९० भन्दा बढी छ भने बुझ्नुस् तपाई उच्च रक्तचापबाट पीडित हुनुहुन्छ । धेरैजसो मानिसमा उच्च रक्तचापको कुनै लक्षण चाँडै देखिँदैन। यस्तो अवस्थामा उनीहरूलाई वर्षौंसम्म थाहा हुँदैन कि उनीहरूको रक्तचाप खतरनाक स्तरमा पुगेको छ।

उच्च रक्तचापका लक्षण
यदि तपाईलाई उच्च रक्तचाप छ भने तपाईले टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, थकान, छाती दुख्ने, पसिना आउने, बान्ता हुने, घबराहट हुने, आँखा धमिलो हुने जस्ता लक्षणहरू अनुभव गर्न सक्नुहुन्छ । लगातार यस्ता लक्षण देखिएमा तुरुन्तै रक्तचाप जाँच गराउनुपर्छ । त्यस्तै १८ वर्ष पुगेपछि प्रत्येक व्यक्तिले दुई वर्षमा एकपटक र ४० वर्ष पुगेपछि वर्षमा एकपटक रक्तचाप जाँच गर्नुपर्छ ।

उच्च रक्तचापको नियमित जाँच गर्न सुझाव यसकारण दिइन्छ किनकी उच्च रक्तचापले धेरै अरु गम्भीर जटिलताहरू निम्त्याउन सक्छ। उच्च रक्तचापका कारण हृदयघात, स्ट्रोक, मुटु र मृगौला फेल हुन सक्छ । आँखा पनि कमजोर हुन सक्छ । साथै, लामो समयसम्म उच्च रक्तचापले व्यक्तिको स्मरणशक्तिलाई असर गर्छ र डिमेन्सिया निम्त्याउन सक्छ।

उच्च रक्तचापको प्रकार
उच्च रक्तचाप दुई प्रकारको हुन्छ प्राइमरी उच्च रक्तचाप र सेकेण्डरी उच्च रक्तचाप । प्राइमरी उच्च रक्तचाप ८५ प्रतिशत बिरामीमा हुन्छ, जसको कारण थाहा हुँदैन । प्रायः यो आनुवंशिक र जीवनशैली कारकहरू जस्तै परिवारमा उच्च रक्तचापको इतिहास, व्यायामको कमी, खराब खाने बानी, धुम्रपान, अत्यधिक मदिरा सेवनको कारणले हुन्छ। यस्तै सेकेंडरी उच्च रक्तचाप एड्रेनल ग्रन्थीको ट्युमर, मुटुमा समस्या वा औषधिको साइड इफेक्टको कारण हुन सक्छ। केही व्यक्तिहरूलाई उच्च रक्तचापको सम्भावना बढी हुन्छ जस्तै वृद्धहरूमा यो सम्भावना बढी हुन्छ।

त्यसैगरी, उच्च रक्तचापको समस्या आफ्नो परिवारमा उच्च रक्तचापको वंशाणु भएका वा मोटोपनबाट पीडित व्यक्तिहरूमा, जो धेरै नुन वा धेरै कम पोटासियम प्रयोग गर्ने मानिसहरूमा पनि देख्न सकिन्छ। धुम्रपान गर्ने मदिरा सेवन गर्नेलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । कुनै परिस्थिति जस्तै निन्द्रामा घुर्ने समस्या, थाइराइड, मृगौला समस्या जस्ता केहि अवस्थाका कारण पनि उच्च रक्तचाप हुन सक्छ।

उच्च रक्तचापबाट बच्ने उपाय
रक्तचापको नियमित जाँच, स्वस्थ जीवनशैली र उपचारबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। आहारमा सोडियम कम समावेश गर्नु, नियमित व्यायाम गर्नु, दैनिक ४५ मिनेट दौडिनु, तौल नियन्त्रणमा राख्नु उच्च रक्तचापबाट बच्ने उपायहरु हुन् । क्याफिन र अल्कोहल सीमित मात्रामा सेवन गर्नु, दैनिक ७–८ घण्टा सुत्नु र तनाव व्यवस्थापन गर्नु जस्ता उपाय अपनाएर पनि उच्च रक्तचाप कम गर्न सकिन्छ ।

यति गर्दा पनि तपाईको रक्तचाप निको हुन सकेन भने औषधिको आवश्यकता पर्न सक्छ । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप एक गम्भीर समस्या हो, जसको उपचार नगर्दा अझ धेरै गम्भीर समस्याहरू निम्त्याउन सक्छ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update