Kath khabar
पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध

 

                   काठमाडौं, जेठ १२ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल ‘राजन’ ले पशुपतिमा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप  लगाएपछि एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए । एमालेका प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए ।

बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षले प्रतिपक्षमाथि लगाएको गम्भीर आरोपको पुष्टि गर्न माग गर्दै त्यसलाई रेकर्डबाट हटाउन समेत माग गरेको छ । त्यतिमात्र नभएर एमालेले दाहालले माफी माग्नुपर्ने समेतको माग राखेको छ । सत्तापक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उनले माग गरे ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update