Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको न्यायाधीशसमक्ष बयान लिन सुरु

 

                   काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिन शुरु भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइने भएको हो ।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ। बयानपछि उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ । इजलासले त्यसपछि उनीहरूलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ।

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ ।

यस्तै यस प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले आज शुक्रबार पक्राउ गरेको छ। उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update