
काठमाडौं, असार २। विवेकशील साझा पार्टीले संघीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ, उक्त पार्टीले भनेको छ । बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल समेत गरेको छ ।
यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैंक ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी छ । 'पूर्ण क्षति व्यहोरेका कतिपय नव–उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौं', उक्त पार्टीले बिज्ञप्ती मार्फत भनेको छ ।