Kath khabar
नेपालमा पहिलो पटक ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ जडान हुँदै

 

                काठमाडौं, असार २४ ।  ट्राफिक प्रहरीले देखेका छैनन् भन्दै तोकिएको भन्दा बढी गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने होसियार ! उपत्यकाका विभिन्न स्थानमा चालकले थाहा नै नपाउने गरी सवारी साधनको गति रेकर्ड हुने यन्त्र जडान भइरहेको छ । तीव्र गतिमा सवारी साधन चलाउने चालक जुनसुकै वेला ट्रफिक प्रहरीको फन्दामा पर्न सक्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रण गर्न उपत्यकाका केही स्थानमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ अर्थात् गतिमापन गर्ने यन्त्र-उपकरण जडान गर्दै छ । जुन उपकरणले तीव्र गतिमा हुइँकिरहेका सवारी साधनलाई मात्रै पछ्याउँछ र त्यसको रेकर्ड उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुमको ‘सिस्डक सेभ’मा जम्मा भएर बस्छ ।

त्यसका आधारमा तीव्र गतिमा सवारी साधन हाँक्ने सवारी धनीलाई ट्राफिक प्रहरीले कारबाही गर्छ । ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा यस्तो उपकरण कोटेश्वर, महालक्ष्मीस्थान, सानेपा र धोबीघाटको बीचमा जडान गर्दै छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त उपकरण नेपालका सडकमा पहिलो पटक जडान गर्न लागिएको हो ।

यसअघि ‘लिडार गन’ मेसिन जडान गरिएको थियो । तर, त्यसभन्दा पनि स्मार्ट गति नाप्ने यन्त्र यस पटक जडान गर्न लागिएको हो । असारको अन्तिमसम्म ती ठाउँहरूमा उपकरण जडान भइसक्नेछ । ‘यो उपकरण सिसी क्यामरा जस्तै हो, चालकले थाहा नपाउने गरी मेसिनले तीव्र गतिमा भएका सवारी साधनलाई पछ्याउँछ र उनीहरूको रेकर्ड राख्छ,’ उनले भने, ‘पहिलो पटक उपत्यकाका ३ स्थानमा यो मेसिन राख्न लागिएको हो, यसअघि लिडार गन मेसिन जडान भइसकेको छ ।’ उनले तोकिएको गति भन्दा बढी गति छ भने चालक कारबाहीमा पर्नेछन् । यो मेसिनले सवारी साधनको फोटो र डिटेल रिड गर्छ । सो आधारमा कारबाही गर्न सहज हुन्छ ।

सडक विभागका अनुसार हाल कोटेश्वर-कलंकी र कोटेश्वर-भक्तपुर सडकमा प्रतिघन्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइन्छ । भित्री सडकहरूमा प्रतिघन्टा ३० किमि गति हुनुपर्छ । यस बाहेक स्कुल, कलेज र मानिसको मुभमेन्ट बढी भएको ठाउँमा पनि तीव्र गतिमा सवारी हाँक्न पाइँदैन । यसरी सवारी साधनको गति छुट्याउने कार्य सडक विभाग तथा सडकसँग सम्बन्धित निकायकै हो । सडक बनाउने निकायले कुन सडकको गति कति भनेर तोकिदिएको हुन्छ ।

सोही आधारमा ट्राफिक प्रहरीले कारबाही गर्ने प्रवक्ता भट्टको भनाइ छ । उनका अनुसार यसअघि राखिएको ‘लिडार गन’ले पनि स्पिडमा आएको सवारी साधनको नम्बर प्लेटको रेकर्ड राख्छ । ट्राफिकसँग हाल १० वटा लिडार गन छन् । यो ट्राफिक आफैँले लिएर हिँड्न मिल्छ । ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ निश्चित ठाउँमा जडान गरेर राखिन्छ । यो उपकरणको चिप ट्राफिक कन्ट्रोल रुमको सिस्टमसँग जोडिएकाले सहज हुन्छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update