Kath khabar
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता

 

                 भक्तपुर, साउन ३१ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ ।

परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । ग्रेड वृद्धि परीक्षाको समय तालिका र आवेदन फाराम बुझाउने सम्बन्धी तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको थियो जसमा ५० प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका छन् ।

कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धिका लागि फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ । ग्रेड वृद्धिका लागि आजदेखि परीक्षा आवेदन फाराम बुझाउने र भाद्र २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत ६ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि भाद्र २९ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १२ सय बुझाई सम्बन्धित विद्यालयमार्फत भाद्र ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाई सक्नुपर्नेछ ।

बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन: परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ । सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ ।

सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ । यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ  ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update