Kath khabar
एमसीसी सम्झौतामा सरकारले जनता झुक्याएको मात्र हो : केपी शर्मा ओली

 

                 काठमाडौं, भदौ १३ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौतामा सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

१२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् । उनले तत्कालिन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए ।

‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

ओलीले एमसीसीबारे वर्तमन प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए । ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्‍यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । यो भन्दा आरोप केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’ उनले भने ।

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि हिजो नेपाल आइपुगेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update