Kath khabar
पित्तथैलीमा पत्थरी कत्तिको जोखिमपूर्ण ?

 

                    काठमाडौं, भदौ २२ । पित्तथैली शरीरको सानो भाग हो जुन कलेजोको ठीक पछाडि हुन्छ । कलेजोको मुनि, सानो थैलीको रूपमा पित्तथैली हुन्छ जसमा कलेजोबाट निस्कने पित्त जम्मा हुन्छ । यो पित्त बाक्लो हुन्छ र पाचन प्रणालीमा पुग्छ, जसले पाचन सजिलो बनाउँछ। तर कतिपय अवस्थामा पित्तथैलीमा पत्थरी जम्मा हुन थाल्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ।

पित्तथैलीमा ८० प्रतिशत पत्थरी कोलेस्ट्रोलबाट बनेको हुन्छ । यसबाहेक यसमा क्याल्सियम वा बिलिरुबिन (रगत टुक्रिएर बनेको पदार्थ) को मात्रा पनि जम्मा हुन थाल्छ । यो बिस्तारै कडा हुँदै जान्छ र पित्तथैली भित्र ढुङ्गाको रूप लिन्छ ।

पित्तथैलीको मसिना पत्थरहरु पित्तसँगै तल ओर्लिएर आन्द्रामा पुग्ने गर्छन् । कसै-कसैलाई भने त्यस्ता पत्थरहरु थैलीको फेदमै बस्ने र ठुलो ठुलो आकार बनेर थैलीको मुखबाट बाहिर निस्कन नसक्ने हुन्छन् । यस्तो पत्थरी भएपछि अधिकांशहरुले थाहा पाउँदैनन् । जसको अलि हल्का ठुलो पत्थर बनेको छ उनीहरुमा ति पत्थरहरु थैलीबाट निस्कन खोज्दा र तल आन्द्रातर्फ ओर्लन खोज्दा दुख्ने गर्दछ अनि मात्र पत्थर भएको थाहा हुन सक्छ ।

सामान्यतया मिर्गौलामा पत्थरी भएमा यसलाई घरेलु उपचारले हटाउन सकिन्छ । तर धेरैजसो अवस्थामा दुखाइ बढी भयो भने पित्तथैलीको पत्थरी हटाउन शल्यक्रिया आवश्यक हुन्छ । यदि कसैलाई यस्ता समस्या छन् भने बेवास्ता गर्नु भने हुँदैन, किनकि लामो समयसम्म पित्तथैलीमा पत्थरी रहँदा शरीरमा धेरै समस्या आउन सक्छ । गम्भीर अवस्थामा पित्तथैलीमा क्यान्सर पनि हुन सक्छ । त्यसैले समयमै उपचार गराउँदा राम्रो हुन्छ ।

लक्षण
कतिपयमा पित्तको पत्थरी भए पनि कुनै लक्षण देखिँदैन । लक्षण नदेखिएसम्म पित्तथैलीमा पत्थरी बनेको थाहा हुँदैन। पित्तथैली भए नभएको पत्ता लगाउन अल्ट्रासाउन्ड वा भिडियो एक्सरे गरिन्छ । पित्तथैलीको पत्थरीका लक्षणहरू व्यक्तिपिच्छे फरक-फरक हुन सक्छन् ।

पित्तथैलीको पत्थरी हुँदा पेटको दायाँतिर माथिल्लो कोखमा दुख्ने हुन्छ । यो दुखाइ दायाँ छातीको पछाडितिर सरेर जान्छ । कसै-कसैलाई दायाँ कुममा पनि दुख्छ र केहीबेरमा आफैँ सन्चो हुने गर्छ । यसका साथै काँध नजिक ढाड दुख्नु, बान्ता हुनु, वाकवाकी लाग्नु आदि यसका सामान्य लक्षण हुन् । धेरैजसो चिल्लोयुक्त खानाहरु खाँदा पित्तथैली चल्ने र बाहिर आउने हुन्छ । त्यतिबेला पेट दुखाइ निकै कडा खालको हुनसक्छ । चिल्लोयुक्त खाना खाएपछि ३० मिनेटदेखि ५–६ घण्टासम्म लगातार दुखिरहन सक्छ । यस्तो दुखाइबाट बच्नका लागि चिल्लो खाना नखानु राम्रो विकल्प हो ।

उपाय
पित्तको पत्थरीको समस्या प्रायः महिलालाई हुने गर्छ । पित्तको पत्थरीबाट बच्नको लागि खाना नछोड्नुहोस् । धेरै व्रत बस्नाले पनि पित्तथैलीमा पत्थरी निम्त्याउन सक्छ । यसका साथै यदि तपाई तौल घटाउँदै हुनुहुन्छ भने अचानक तौल घटाउनु हुँदैन । छिटो तौल घटाउँदा पित्तथैलीमा पत्थरी हुन सक्छ ।

पित्तथैलीमा पत्थरी हुनबाट जोगिन स्वस्थ आहार लिनुहोस् । आफ्नो आहारमा फाइबरयुक्त खानेकुराको बढी प्रयोग गर्नुहोस् । आफ्नो आहारमा सधैं मौसमी फलफूल, हरियो सागसब्जी र सम्पूर्ण अन्न समावेश गर्नुहोस् । तौललाई पनि नियन्त्रणमा राख्नुहोस् । चिल्लो खानेकुरा सकेसम्म नखाने वा कम खाने गर्नुहोस्।

अप्रेशन गरेर पित्तथैली फालेपछि शरीरमा कुनै असर गर्छ कि गर्दैन ?
अहिलेसम्मको अनुसन्धानले के पत्ता लगाएको छ भने पित्तथैलीको पत्थरीको उपचार कुनैपनि औषधीले सम्भव छैन । यसको एउटै उपचार शल्यक्रिया नै हो । कसै-कसैलाई पत्थरी नलीमा तल झरेर यसका कारण प्यान्क्रियाज सुन्निने (एक्युट प्यान्क्रियाटाइटिस) भन्ने डरलाग्दो रोग हुनसक्छ । यही पत्थरी तल झरेर नलीमा अवरोध गरी जन्डिस हुन पनि सक्छ । यस्तोमा अप्रेशन गरिहाल्नुपर्ने हुन्छ ।

अप्रेशन गरेर पित्तथैली फालेपछि शरीरमा खासै असर गर्दैन । पहिलो केहि महिना खाएको पचाउन गाह्रो भएको जस्तो, दिसा अलि धेरै लाग्ने, दुख्ने आदि हुन सक्छ । यसको लागि औषधि खान सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update