Kath khabar
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा

 

                  काठमाडौं, भदौ २६ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको पार्थिव शरीरलाई भोलिसम्म पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । उनलाई श्रद्धाञ्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्या भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्ष्मी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायत पार्टी कार्यालय पुगेका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update