Kath Khabar
प्रधानमन्त्री ओलीले भन्नुभयोः झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाउँछौ

काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्धामामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि विद्यालय भवनको भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो कुरा बताउनुभएको हो ।

विगत ३० वर्षमा नभएका परिमाणमा पछिल्ला तीन वर्षमा देशभरी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेको समेत उल्लेख गर्नुभयो । जम्मा दुई वर्ष मात्र राम्ररी काम गर्ने वातावरण पाइयो, त्यसपछि डेड वर्ष त कोभिडसँग लडेर र कहिले के नाममा कहिले के नाममा आफ्नै पार्टीबाट समेत भाँजो हाल्ने प्रयाससँग लड्नु पर्यो, उहाँले बताउनुभयो । अहिले पनि देशलाई ताजा जनादेश तिर जान नदिने, चौतर्फी प्रयास भइरहेको भनाई उहाँको थियो । ‘न त भएको सरकारलाई काम गर्न दिने न त वैकल्पिक सरकार नै दिने यस्तो अवस्थाबाट पार पाउनका लागि जनतामा जान सरकार कृत संकल्पित छ’, उहाँले भन्नुभयो ।

भवन शिलान्यासबाट डोरामारीका जनताको  भौतिक सुविधा सम्पन्न आधुनिक भवनमा शिक्षा दिने आकांक्षाले मूर्तरुप पाउन आँटेको  धारणा उहाँको थियो । आफूले चुनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेभन्दा राम्रो भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुसीको विषय भएको धारणापनि उहाँको थियो ।

यसका साथै अहिले दमक औद्योगिक पार्कको  निर्माणबारे लगानी बोर्डमा छलफल भइरहेको तथा हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग बारे असाधारण काम भएको पनि उहाँले उल्लेख गर्नुभयो ।  ‘तर देशलाई अघि बढ्न नदिने र विकास गर्ने सरकारलाई ढालेर छोड्ने विभिन्न रंगका तत्वहरु क्रियाशिल रहेको र आफ्नै पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्नेसम्मको निर्लज्ज तत्वहरु मेरै पार्टीमा देखा परे, उहाँले भन्नुभयो ।

अहिले आफ्ना प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको र अनैतिक समाज निर्माण गर्ने प्रयास भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । सामाजिक सञ्जालमा प्रयुक्त भाषाले हाम्रो गौर पूर्ण भाषालाई अधोपतनतर्फ लगिँदै गरिएको पुष्टी गर्ने समेत उहाँले उल्लेख गर्नुभयो । सम्बोधनमा प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्धारित समयमैे एवं गुणस्तरमा सम्झौता नगरी विद्यालय भवन निर्माण सम्पन्न हुने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update