Kath khabar
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी

 

                   कास्की, कात्तिक १३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरूलाई प्रमाणित गर्न चुनौती दिनुभएको छ ।

आज सोमवार एमाले गण्डकी प्रदेशको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आरोप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप १ हजार थपेर सबै शेयर दिने बताउनुभएको हो । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उहाँको भनाइ छ ।

‘कम्बोडियामा गएर बुझेर मैले ३ हजार करोड लगानी गरेको प्रमाणित गर्नुस् । त्यसमा बक्सिस १ हजार पनि थपेर सबै शेयर दिन्छु’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाउनुभयो । भन्सार र विमानस्थलबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको आरोप छ । उहाँले देश टाट पल्टिने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

ओलीले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कहिल्यै नझुक्ने बताउँदै दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर नभनेको उल्लेख गर्नुभयो । ‘मैले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ’, उहाँले भन्नुभयो, ‘त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’

अध्यक्ष ओलीले २०८४ सालको चुनावमा एमालेले एकलौटी जित्ने दाबी गर्नुभयो । कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले अब आउने चुनावमा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update