Kath khabar
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी

 

                 काठमाडौं, मंसिर १८ ।  जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सहित ४ जना नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका २ मुद्दामा विप्लव सहित पोलिटब्युरो सदस्य खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौंले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

२०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनीहरू माथि सङ्घीय इकाइहरू बीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरू बीचको सु-सम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने 'वारेन्ट' जारी गर्न आदेश दिएको थियो ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाण सहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुने र पछि उजुर बाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update