Kath khabar
विराटनगरको कवाडी गोदाममा आगलागी, २ जनाको मृत्यु ४ जना घाइते

 

                    विराटनगर, मंसिर २० ।  विराटनगर महानगरपालिका वडा नम्बर ७ मा रहेको एक कवाडी गोदाममा भएको आगलागीमा २ जनाको ज्यान गएको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगो निभाउने क्रममा भेटिएको शव नचिनिने अवस्थामा रहेको छ । उपचारका क्रममा ज्यान गुमाउनेमा विराटनगर-६ का ३० वर्षीय दिपक मण्डल रहेको प्रहरीले जनाएको छ ।

आगलागीमा घाइते भएका ३ जनाको न्यूरो अस्पतालमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । अहिले आगो निभाइएको र आगलागीको कारण थाहा नभएको डीएसपी दाहालले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update