Kath khabar
बराहथवा घटनाः स्थानीय प्रशासन र आन्दोलनकारीबीच ११ बुँदे सहमति

 

                   सर्लाही, पुस २३ । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ । आइतबार भएको सहमतिसँगै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्काल प्रभावबाट फिर्ता लिने सहमति गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सम्झौता अनुसार बरहथवास्थित नगरपालिका अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी शुक्रबारको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका एक जनाको नामबाट नामकरण गरिने बताए । त्यसैगरी मृतकका परिवारलाई रोजगारीको अवसर प्रदान गरिनेछ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । तीन दिन पछि साहको शव आइतबार परिवारलाई जिम्मा लगाइएको छ । साहको शवको आज अन्त्येष्टि हुँदैछ । अन्त्येष्टि अघि उनको शव यात्रा निकालिएको छ।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update