Kath khabar
राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, २३ जना घाइते

 

                     दाङ, पुस २८। दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर दाङको भालुबाङस्थित राप्ति नदीमा खसेको थियो ।

ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ । परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् । अरु चार जनाको परिचय खुलेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।

प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बसका चालकले प्रहरीसँगको बयानमा बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बताएका छन् । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update