Kath khabar
बिदाका अवसरमा घुम्न जाँदा बाबु–आमासहित आफ्नो परिवार नै गुमाइन् डा. सृष्टिले

 

                     काठमाडौं, पुस २९ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ पानीघाट भन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने ३८ वर्षीय डा. महेशकुमार गौतम, उनका छोरा ४ वर्षीया प्रियान्स गौतम, छोरी ६ वर्षीया स्मारिका गौतम र उनका सासु ससुरा काठमाडौं महानगरपालिका–३० मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी रहेका छन् । गम्भीर घाइते भएकी छोरी स्मारिका गौतमको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जीपका चालक डा. गौतम लाजिम्पाटस्थित आफ्नै घरमा नेसनल आस्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए । गाडीमा सवार ६ जनामध्ये डा. गौतमकी श्रीमती डा.सृष्टि तिवारी गौतम सकुशल छिन् । काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरी नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

शनिबार डा. गौतम छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै थिए । दिउँसो करिब २ बजे हिमचुली सेतो पहरा भन्ने ठाउँमा पुग्दा उकालोमा कारले तानेन । त्यसपछि डा. सृष्टि बाहिर झरेकी थिइन् । गाडीले पिकअप लिन पछाडि आउँदा गाडीको ब्रेक नलागेपछि गाडी भिरबाट तल झरेको थियो ।

गाडीको ब्रेक नलागेपछि डा.सृष्टिले गाडीको चक्कामा ढुङ्गा राखेर रोक्न खोजेकी थिइन् तर उनी असफल भइन् । बिदाका अवसरमा घुम्न जाँदा छोरा–छोरी, बाबु–आमासहित श्रीमान् समेत गुमाएकी सृष्टिमाथि कल्पनासम्म पनि गर्न नसकिने बज्रपात परेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update