Kath khabar
बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु

 

                 काठमाडौं, माघ १० । रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको  दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेका किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार अर्को व्यक्ति भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । मृतक बम्जनविरुद्ध उजुरी दिने किशोरीका बाबु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अहिलेसम्म त्यस्तो कुनै शंकास्पद अवस्था नदेखिएको प्रहरीले बताएको छ । व्यक्ति वेपत्ता, तथा बाल यौन शोषणको जाहेरी परेपछि फरार रहेका बम्जनलाई गत पुस २५ गते सीआईबीले पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशपछि उनी अहिले जलेश्वर कारागारमा थुनामा छन् ।

 ट्रयाक्टर चालकलाई समेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update