Kath khabar
मुगुमा भाइरल ज्वरोको प्रकोप, तीन जनाको मृत्यु

                    

                        मुगु, माघ ११ ।  मुगु जिल्लाको सोरुगाँउपाली- ६ पुरुमुरु गाउँमा भाइरल ज्वरो तथा रुघा खोकीले तीन जनाको मृत्यु भएको छ।

मौसमी भाइरल ज्वरोले सोरु गाउँपालिका वडा नम्बर ६ पुरुमुरु गाउँका बर्ष ७२ का हरिबहादुर शाही, बर्ष ७५ की कृती छत्याल, सोही गाउँकी बर्ष २४ की कुसुम ढोलीको मृत्यु भएको हो ।

यसैबीच, सोरू गाउँपालिकामा रोग फैलिएको जानकारी पाएसँगै जिल्ला स्वास्थ्य कार्यालय मुगुका डा.कमल ढुङ्गानाको नेतृत्वमा आवश्यक औषधिसहितको टोली रोग प्रभावित क्षेत्रमा पुगी बिरामीको उपचार गर्नुका साथै रोगका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ। डा.कमलसहितको टोलीले सोरु गाउँपालिका ६ पुरुमुरु र जिमा गाउँका १ सय ५० जनाभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरी रुघाखोकी, ज्वरो, शरीर दुखाइको औषधी वितरण गरेको छ ।

पुरुमुरु, जिमालगायत अन्य दर्जनौँ गाउँमा जरो आउने रुघाखोकीले सताउने, शरीर दुख्ने, श्वास फेर्न समस्या हुने खालका बिरामीहरू धेरै भएको जानकारी पाएसँगै सोरू गाउँपालिकाले जिल्ला अस्पताल ठिनी मुगुसँग सहकार्य गरेर जिल्ला अस्पतालका डाक्टरसहितको टोलीलाई आवश्यक औषधिसहित रोग प्रभावित क्षेत्रमा पठाएको हाे।   

कोभिड-१९ मलेरियालगायत रोगको चेक, जाँच गरिए पनि कुनै भाईरस नदेखिएपछि केही बिरामीहरूको स्वाब परीक्षणको लागि सुर्खेत पठाइएको र त्यही रिपोर्टको आधारमा रोगको पहिचान हुने डा. ढुङ्गानाले बताउनुभयो । गाउँमा रोग फैलिएर मान्छेको मृत्यु हुँदासम्म स्थानीय सरकार र अन्य कुनै पनि निकायले समयमा नै सहयोग नगरेको बिरामी सल बहादुर ढोलीले गुनासो  गर्नुभयो । “गाउँभरि बिरामी छन् । स्थानीय सरकार वडा र पालिका र अन्य कुनै पक्षबाट औषधी उपलब्ध नगराउँदा निकै समस्या भएको छ ”, उहाँले भन्नुभयो ।

मुगुमा केही दिनयता अत्यधिक चिसो हुनुका साथै हिउँदे मौसममा हुनुपर्ने वर्षा र हिमपात नहुँदा जताततै  उजाड र सुख्खा वातावरण देखिनुका साथै सुख्खा मौसमले गर्दा माटोसहितको हावाहुरी चल्दा विभिन्न खाले मौसमी रोगहरू देखिन थालेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update