Kath khabar
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

 

                      काठमाडौं, माघ २६ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । आज सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तिन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मूलसमारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय छ ।

आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।

यस्तै, प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गरिनेछ भने बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update