Kath khabar
भारतको बेतालघाटमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु


                  महेन्द्रनगर, चैत २७ । भारतको नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सवारी दुर्घटनामा परी सातजना नेपालीसहित भारतीय सवारी चालकको मृत्यु भएको छ ।

बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताउनुभयो ।

“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उहाँले भन्नुभयो, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले  जानकारी दिनुभयो ।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत 'स्टेट डिजास्टर रेस्पोन्स टिम' समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताउनुभयो ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update