Kath khabar
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित


                         काठमाडौं, चैत २७ ।  प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दोर्‍याएपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।

आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिनुभएको थियो । उहाँले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गर्नुभयो ।

सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गर्नुभयो । साथै उहाँले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराउनुभएको थियो ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिनुभएको थियो । उहाँले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन  गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गर्नुभएको थियो ।

कांग्रेस सांसदहरु आसनबाट उभिइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update