Kath khabar
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, ५२ घाइते
तस्विर : सामाजिक सञ्जाल

 

                     सिन्धुपाल्चोक, वैशाख ७ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने बेहुलासहित ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका तीनमध्ये दुई जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुको चौतारास्थित सिन्धु अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update