Kath khabar
इलाम-२ मा ५९ दशमलव ७९ प्रतिशत मतदान, आजै गणनाकाे तयारी


                   फिक्कल (इलाम),वैशाख १४ । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन् । सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।

इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।  

उहाँका अनुसार मतगणना आज रातिबाट सुरु गर्ने तयारी छ । आज राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।

चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने प्रजिअ यादवले बताउनुभयो । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।

मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ  । सिटी हलको एक कोठामा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ ।

मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ । यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।
 
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । (रासस)

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update