Kath khabar
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’


               काठमाडौं, जेठ १० । नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् । यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सीप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो बनेको छ ।

परिषद् र नेपाल हस्तकला महासङ्घले यो अवसर जुराइदिएको हो । योक्रम यही जेठ २८ गतेसम्म जारी रहनेछ । ‘नेपालका देवीदेवताहरु’ नामक दोस्रो संस्करणको जारी कला प्रदर्शनीमा देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरुलाई एउटै धरातलमा अन्तर्निहित गरी यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानको सौन्दर्यतामा सजाएका छन् ।

प्रदर्शनीले देवीदेवताप्रतिको सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्ने तथा विभिन्न कलाकारको अभिव्यक्ति र प्रेरणाको सद्भाव तथा समर्पणमा जोडिन प्रेरित गरेको छ ।

यसले नेपाली कलात्मक सम्पदाको संरक्षण तथा नेपालको बलियो सांस्कृतिक सम्पदाका बारेमा आगन्तुकलाई जानकारी गराउन पनि मद्दत गर्ने परिषद् र यो प्रदर्शनीकी क्युरेटर स्वस्तीराज भण्डारी कायस्थले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यसपालीको प्रदर्शनी सन् २०२२ मा गरिएको पहिलो प्रदर्शनीको सफलताको उपलब्धि हो ।” उहाँले प्रदर्शनीमा कलापारखीभित्र छिर्नेबित्तिकै अनुभव नै देवी, देवतास्थलमा पुगेको होस् भनेर कोठाहरुलाई पनि त्यहीअनुसार सजाइएको र ढाँचा तयार पारिएको बताउनुभयो । यहाँ पाँच सय कलाकृतिमध्ये दुई चरणमा छनोट गरी उत्कृष्ट सिर्जना राखिएको उहाँको भनाइ छ ।

यस प्रदर्शनीमा हिन्दू र बुद्धधर्मसँग सम्बन्धित आधुनिककला, परम्परागतकला, लोककला र समसामयिक कलाअन्तर्गत एक सय ६३ अग्रजदेखि नव कलाकारका कलाकारले तयार पारेका दुई सय ३५ थान कलाकृति प्रस्तुत गरिएको छ । रु २२ लाख बढी मूल्य तोकिएका कलादेखि मूल्य नतोकिएका तर त्योभन्दा बढी मूल्यपर्ने कला प्रस्तुत गरिएकाले पनि यहाँको प्रदर्शनी खास देखिएको छ ।

यहाँ पुराना कलाकार तेजबहादुर मास्के, मत्स्यगोपाल वैद्य, शशि शाहलगायतका कला सिर्जना पनि अवलोकन गर्न पाइने अवसर प्राप्त छ । आज बुद्ध जयन्ती परेकाले पनि अझै यसको सान्दर्भिकता बढेको छ । स्वदेशी र विदेशी प्रदर्शनी अवलोकनमा आइरहेका छन् ।

यहाँ राखिएका कलाकृतिले हिन्दू र बौद्ध धर्मको उत्पत्ति तथा आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म तथा दर्शन जगाउने र विगतका शताब्दीहरूमा सिद्धहरु, ऋषिहरू र विद्वानबाट पाएका विभिन्न देवीदेवताका अवतार तथा छविको असंख्य रूप, प्रतिकात्मकता र प्रतिमाको खोजीमा सघाउने छ । यस संस्करणमा देवीदेवताका बासस्थल झल्काउने कलाकृति पनि समावेश छन् ।

भुइँतलामा हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्त, ग्रह, देवता, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाङ्काल, भैरव, अन्य बौद्ध देवता र देवीदेवताका बासस्थलको सुन्दर कलाकृति राखिएको छ । यस्तै नेपालबाट हराएका र फर्किएका देवीदेवताका फोटो प्रदर्शनी पनि गरिएको छ ।

माथिल्लो तल्लामा युरोपियन कलाकार नेल्सन फिरेराको मोबाइल फोनको फ्ल्यास लाइटबाट मात्र हेर्न सकिने ‘पेन्टिङ वीथआउट पेन्ट’ कलाकृतिले प्रदर्शनीलाई नयाँ पनि दिएको छ । परम्परागत कलाअन्तर्गत कमलको फूलको धार्मिक महत्वका बारेमा डिजिटल माध्यमबाट ‘एनिमेसन’ गरी आकर्षकरुपमा प्रस्तुत गरिएको छ । नेपालको धातुकलाको शुभारम्भदेखि अन्तसम्मका चरणबद्धरुप भिडियोसहितको प्रस्तुतिले प्रदर्शनीमा थप सुगन्ध थपिदिएको छ ।

माथिल्लो तलामा कोठालाई अँध्यारो बनाएर ‘डार्क’ कला प्रस्तुत गरी कलामा आयाम थपिदिएको छ । एउटा कोठामा कमलको फूल उनिएको सिर्जनालाई एनिमेसनमार्फत चार टुक्रा पारेर प्रोजेक्टरबाट प्रस्तुत गरी जीवन्त तुल्याइएको छ । त्यो कलालाई चलिरहेको अवस्थामा प्रस्तुत गरेर थप विस्तृत बनाइएको छ ।

एनिमेटेड सिर्जनामा तालमा कमल फूल फक्रिएको, कोपिला हाल्दै गरेको देख्न सकिन्छ । जुन प्राकृतिकरुपमा जसरी हावा चल्दा फूलहरु चलायमान हुन्छन्, त्यस्तै स्वरुपमा देख्न सकिने हुँदा कला पारखीहरु यहाँ पुगेर सेल्फी नलिइ फर्किंदैनन् । उक्त सिर्जना लोक चित्रकारले बनाउनुभएको हो । त्यसलाई डिजिटलाईजेसन गर्ने काम भने फायर स्टुडियोको सहयोगमा निकेश श्रेष्ठ, प्रविना जोशी र शशांक रञ्जितले गर्नुभएको हो ।

यहाँ ठूलाठूला मूर्तिकला र ‘इन्स्टलेसन’ कलाले प्रदर्शनीमा आकर्षण थपिदिएको छ । प्रदर्शनी उत्कृष्ट देखिएको कलाकार सिर्जनराज भण्डारीले बताउनुभयो । उहाँले पनि यहाँ भक्तपुर दरबार स्वायरलाई प्रस्तुत गर्नुभएको छ ।

अग्रज कलाकार हरिप्रसाद शर्माले इतिहास झल्काउँदै बनाउनुभएका सिर्जनाले यसअघि नै चर्चा पाइसकेको छ । यहाँ उहाँद्वारा सिर्जित पृथ्वीनारायण शाहले नेवार नाँच हेर्दै गरेको चित्र पनि राखिएको छ । उहाँको सिर्जनामा शाहले कान्तिपुर विजयसँगै वसन्तपुर हनुमानढोकामा  परम्परागतरुपमा देखाइने नृत्य अवलोकन गरिरहेका छन् । साथमा नगरवासी युवायुवती तथा प्रौढ दरबारको पटाङ्गिनीमा जम्मा भएका छन् ।

प्रताप मल्लकालिन दरबार, इन्द्रजात्राको उत्सवका लागि सिँगारिएको देगुतले, जगन्नाथ, विष्णु, कागेश्वरी मन्दिरले उक्त क्षेत्र कलात्मक र शोभायमान छ । सिर्जनामा साँझको हल्का लालीयुक्त आकासले वातावरण मनमोहक पारेको देख्न सकिन्छ ।

हराएका र भेटिएका कलाकृति जान्न सकिने
प्रदर्शनीमा नेपालबाट हराएका र भेटिएका कलाकृतिबारे पनि जान्न पाइने अवसर छ । नेपाली संस्कृति र सम्पदाका आधारमा विगतदेखि ऐतिहासिक र धार्मिक कलाकृतिहरुको विशेष महत्व रहेको छ । यी सुन्दर कलाकृतिले हाम्रो दैनिकरुपमा अँगालेका रीतिथिति र जीवनशैली, सुन्दर बासस्थल आदिले नेपालीको मूर्तसांस्कृतिक सम्पदाको महत्व बोकेको छ ।

सन् १९५० पश्चात् अन्तर्राष्ट्रियस्तरमा जब नेपाली सम्पदाको पहिचान विश्वभर फैलियो । तत्पश्चात् यी कलाकृतिको चोरी निकासी संसारभरिका बजारमा हुन थाल्यो । यी पुरातात्विक महत्व भएका कलाकृति विशेष गरेर प्रस्तरकला, धातुकला, तेराकोटाका मूर्ति, अद्भूतकलाका मुखौटा, पूजाआजामा प्रयोग हुने सामग्री, हस्तलिखित पाण्डुलिपि, परम्परागत गरगहना आदि हराउने वा चोरी निकासी हुने गरेको छ ।

सन् २०२१ देखि यी हराएका एवं चोरी निकासी भएका नेपाली सांस्कृतिक सम्पदा र धरोहरको दाबी सङ्घसंस्था तथा व्यक्तिले गरी फिर्ता ल्याउने काम थालिएको थियो । फिर्ता आएका यी आस्था र श्रद्धाका प्रतीक रहेका सांस्कृतिक सम्पदा र धरोहर सम्बन्धित स्थानमा स्थापित भई पुनःधार्मिक, सामाजिक काम शुभारम्भ भएको पनि छ । परिषद्मा प्रस्तुत गरिएका फोटोले विभिन्न सालमा हराएका र फर्किएका कलाकृतिको घटनाक्रमलाई देखाइदिएको छ । (रासस)
---

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update