Kath Khabar
भाडा वृद्धिदर तत्काल फिर्ता गर्न विद्यार्थी संगठनद्धारा माग 

काठमाडौं, असार ३१ । पाँच विद्यार्थी संगठनले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार जाँदा जादैँ यातायातको भाडादर २८ प्रतिशतले बृद्धि गरेको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’

भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ । त्यस्तै, विद्यार्थी संगठनले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरुको ठाँउ, नाम र विश्वविद्यालय परिवर्तन गर्ने नाममा रातारात भएको पाइएको समेत बताएका छन् ।

तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानबिन गरी कारबाही गर्न समेत जोडदार माग गरेका छन् । भाडा वृद्धिको विषयमा विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गर्ने भएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update