Kath Khabar
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ३ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा बहुमत सदस्यले सवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनु भएको थियो ।

संविधानअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । उपसभामुख पद लामो समयदेखि रित्त छ ।

हाल कायम रहेका पाँच सदस्यमा पनि बहुमतले निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएको थियो । त्यसअनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगसहितका अधिकांश संवैधानिक निकायमा नियुक्त सिफारिस गरेको थियो, जसको संसदीय सुनुवाइ विना नै नियुक्ति हुदाँ नियुक्ति विवादस्पद बन्न पुगेको थियो। 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update