Kath Khabar
गृहमन्त्री खाँडले भन्नुभयो, ‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं’

काठमाडौं, साउन ५ । गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताउनुभयो । 

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उहाँले राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबार बिहान भएको भेटमा सो कुरा बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।उहाँले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताउनुभएको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यान आकर्षण गराउनुभएको थियो । गृहमन्त्री खाँडले सो विषयमा सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने बताउनुभयो । महासंघका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाँडलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो ।

सो भेटमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, संचालक खेम पाठक, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक डिवी बस्नेत, राजेन्द्र पौडेल, सागर ढकाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update