Kath Khabar
प्रधानमन्त्री समक्ष चेम्बर प्रतिनिधि मण्डलद्धारा आर्थिक गतिबिधिलाइ बिस्तार गर्ने वारे सुझाव प्रस्तुत   

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यद्धारा आज मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष भेटवार्ता गर्यो । उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नु भयो । 

चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्नु हुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउनु हुँदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइअर्थतन्त्रमा योगदान पुग्न जाने हुँदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गर्नु भयो । 

यसका अतिरिक्त चेम्बर अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गरिनुपर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनुपर्ने, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनुपर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनुपर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनुपर्ने,  विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनुपर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गर्नु भयो । 

उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउनु हुँदै अहिले अर्थतन्त्रमा चुनौतिहरु आएका छन् यसलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्बोधन गरिन सकिने बताउनुभयो । कोभिड खोप सम्बन्धी नेपाल चेम्बर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउनु हुदै नेपाल चेम्बर अफ कमर्सको माग सम्वोधन हुने बताउनु भयो र प्राप्त सुझावका लागि धन्यबाद ज्ञापन गर्नुभयो । 

उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्बरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update