Kath Khabar
करको दायरा विस्तार गर्ने कार्य योजना ल्याउनुस् : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन ५। अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयको आन्तरिक ब्रिफिंगको क्रममा मन्त्री शर्माले भन्नुभयो “थोरैजनाबाट धेरै दरमा कर उठाउने हैन, धेरैजनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।”

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मेहेनत गर्नुपर्नेमा जोड दिनुभयो । “यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ त्यो कुरा मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजश्व संकलनको लक्ष पूरा गर्न सकिदैन । करदातामैत्री नीति कार्यान्वयनमा ल्याउनुपर्‍यो”, उहाँले भन्नुभयो ।

उहाँले प्रशासनिक झण्झटहरु हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन गर्नुभयो । “कर तिर्नको लागि करदाताले वाक्कलाग्दो झण्झट बेहोर्नुपरेको कुरा मैले सुन्ने गरेको छु यो अवस्थाको अन्त्य गर्नुस ।” कर प्रशासनलाई करदातामैत्री बनाउर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राख्नुभयो ।

विद्यमान कर प्रशासनमा सुधार गर्नेहो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ थियो । ब्रिफिंगको क्रममा मंगलवार राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका थिए ।    

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update