
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रम देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको काम को बारेमा जानकारी गराउनुभएको थियो ।
विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताउनुभयो । ‘प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, 'बैंक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौ । उहाँका अनुसार प्रम देउवाले देशभरका सहकारीक्षेत्रको प्रतिथनिधित्व हुनेगरी सहकारी बैंक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभएको थियो ।'
‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धीत निकायसंग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो । ’शुभकामना आदानप्रदान गर्ने क्रममा प्रम देउवाले राख्नुभएको धारणाबारे जानकारी दिँदै सचिव भण्डारीले भन्नुभयो-सहकारी बैंक खोल्ने विषयमा विभागले थप प्रकृया थाल्नेछ ।
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको थियो । विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुग्नुभएको थियो ।
नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउनेछ । बैंक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।